अदालत परिसरभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

गोरखा, ११ वैशाख । गोरखा जिल्ला अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उहाँले बताउनुभयो ।

दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ छ।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *