अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बलात्कार आरोप

‘म नचिच्याएको भए पनि ट्रम्पले मलाई बलात्कार गरेकै हुन्’ पीडित क्यारोलको बयान

काठमाडौं, १७ वैशाख । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कारको आरोपले उनलाई झन् नयाँ संकटमा पार्न सक्ने संकेत देखा परेको छ । उनलाई बलात्कारको आरोप लगाई मुद्दा दायर गर्ने ई. जोन क्यारोलले विहीवार ट्रम्पका वकिलले सोधेका प्रतिप्रश्नहरूको उत्तर दिँदै ट्रम्पले आफूलाई बलात्कार गरेकै हो भनी दोहो¥याएर भनिन् ।

घटना अलि पुरानै हो । सन् १९९६ मा न्यूयोर्कको एक डिपार्टमेन्ट स्टोरमा उक्त घटना भएको थियो । ट्रम्प पक्षका वकिलहरूले यो घटना त्यतिखेरै किन सार्वजनिक गरिएन र डिपार्टमेन्ट स्टोरका अन्य मानिसहरूको ध्यान किन आकृष्ट गरिएन भनेर बुझ्न खोजेका थिए ।

बयानका क्रममा ट्रम्पका वकिल जो टाकोपिनाले बारम्बार प्रश्न गरे कि न्यूयोर्कको बर्जडोर्फ गुडम्यान नामक डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुपमा करिब तीन मिनेटसम्म त्यसरी बलात्कार भएको हो भने क्यारोलले त्यही बेला वा त्यसको केही समय पछि चिच्याउने वा हल्ला गर्ने काम किन गरिनन् ?

‘म त्यसरी चिच्याउने मानिस होइन,’ म्यानहट्टनको जिल्ला अदालतमा उभिँदै क्यारोलले भनिन्, ‘म त्यसरी चिच्याउनै नसक्ने गरी त्रसित थिएँ ।’

‘म किन चिच्याइन भनेर तपाइँ मलाई दोष दिन सक्नुहुन्न,’ प्रतिपक्षी वकिललाई उनले भनिन्, ‘यस्तो मामिलामा महिला किन अघि आउन चाहँदैनन् त भन्दा यसको पहिलो कारण हो उनीहरूलाई घटना हुँदा किन चिच्याइनौ भनेर बारम्बार सोध्ने गरिन्छ । केही महिला चिच्याउँछिन्, कोही चिच्याउँदिनन् । यसले महिलालाई मौन बनाइदिन्छन् ।’

क्यारोलले दाहोर्याउँदै भनिन्, ‘म तपाइँलाई फेरि भन्दैछु, उनले मलाई बलात्कार गरेकै हो, चाहे म चिच्याएको होस् वा नहोस् । नचिच्याएकै आधारमा मलाई झुठो भन्न पाइन्न ।’

क्यारोलले ट्रम्प विरुद्ध बलात्कार मात्र होइन आफूलाई बदनाम गरेको भन्ने आरोपमा समेत यो मुद्दा हालेकी हुन् । सन् १९९६ को स्प्रिङ ऋतुमा ट्रम्पले उनलाई बलात्कार गरे । जब क्यारोलले यो मामिला सार्वजनिक गरिन्, त्यसपछि ट्रम्पले उनको बदनाम गर्ने प्रयास गरे भन्ने उनको आरोप छ ।

ट्रम्पले भने उनको सबै आरोपहरूलाई अस्वीकार गर्दै आइरहेको छ ।

तर बुधवारको बयानमा उनले घटना भएको दिन आफूले ट्रम्पसँग कुस्ती नै खेल्नुपरेको बताएकी थिइन् । उनले बयानमा भनेकि थिइन्, ‘उनले मलाई पहिलोचोटी घचेट्न खोज्दा मैले ठानेकि थिएँ कि गल्तीवस उनको हात आफूमाथि पर्न गएको होला ।’

उनले भनिन्, ‘तर दोस्रो पटक फेरि मलाई छुन आउँदा मात्रै मलाई लाग्यो कि उनको नियतमा केही खराबी छ । तर त्यतिबेलासम्म उनले मलाई भित्ता न्याकेर आफ्नो तुष्टि पूरा गरिसकेका थिए । त्यस लगत्तै म त्यहाँबाट भागेँ ।’

यो घटनाले आफूलाई वर्षौंसम्म मानसिक तनाव दिइरहेको पनि उनले बताइन् ।