पर्यटनमन्त्री किँरातीले दुइ देश विचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने
काठमाडौं, १७ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किँरातीले दुइ देश विचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो बताउनु भएको हो । ‘विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ। यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन,’ उहाँले लेख्नु भएको छ,’ ‘मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’
विदेश भ्रमणका लागि मन्त्रीहरुको लर्को लाग्ने गरेको छ । विदेश भ्रमण भनेपछि हौसिने मन्त्रीहरुले विदेश भ्रमणबाट फर्केपछि त्यहाँको अनुभव सिकेर स्वदेशमा अहिलेसम्म खासै केही गर्न सकेको अवस्था छैन । यस्तो बेलामा मन्त्री किँरातीको यो सन्देश सकारात्मक छ । सामाजिक सञ्जालमा पोष्ट गरेको उहाँको सन्देशमा करीब १ हजार प्रतिक्रिया प्राप्त भएका छन् । ती अधिकांश प्रतिक्रिया सकारात्मक छन् । २ सय बढीले त उहाँको त्यो सन्देश सेयर नै गरेका छन् ।