चट्याङ लागेर ओखलढुङ्गाकाे खिजीदेम्बामा महिलाको मृत्यु

ओखलढुङ्गा, १७ वैशाख । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकी रहेकी छन् ।

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । चट्याङबाट गम्भीर घाइते भएकी बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ ।