कञ्चनपुरमा सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

कञ्चनपुर, २३ वैशाख । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार गरेका छन् ।

दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको समूहमा आएका युवाहरूले खुकुरी प्रहार गरेकाे हाे ।

खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिर घाइते भएका छन् । उनकाे बायाँ पाखुरामा चोट लागेको छ ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताउनुभयो । “जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।”

सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । “ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ”, रावलले भन्नुभयो, त्यसका लागि नेपाल प्रहरीसित पनि समन्वय भइरहेको छ जनाएकाे छ ।