झुटा विवरण पेस गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ (विवरण सहित)

काठमाडौं, २४ वैशाख । तराइका विभिन्न स्थानबाट झुटा विवरण पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको तथ्य खुलेकाे हाे ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार तराइका विभिन्न स्थानमा झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

एसएसपी केसीले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएका उनीहरूले झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएकाे बताउनुभयाे ।

भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देही लगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार घर भई काठमाडौंको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेका छन् ।

त्यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेका छन् ।

एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौंको शंखमूल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताउनुभयाे ।

भारतीयहरुले वंशजको आधारमा नै नेपाली नागरिकता लिएर नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरिरहेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *