महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाडाैं, २५ वैशाख । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान पश्चात आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ ।

महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए ।

कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो ।

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलार्ई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए ।

ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो ।