सिन्धुपाल्चोकका १२ स्थानीय तह र अस्पतालका एम्बुलेन्स थन्किएपछि बिरामीलाई सास्ती

सिन्धुपाल्चोक, २७ वैशाख । सिन्धुपाल्चोकका– १२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरु मर्कामा पर्न थालेका छन् ।

जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन । इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ

गाउँपालिका कार्यालयको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय साङ्बु शेर्पा बताउनुुहुन्छ ।

त्यस्तै बाह्रबिसे नगरपालिकाको चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन । अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ ।

बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झण्झट हुने गरेको छ । सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्यतिरेर भाडाको गाडी प्रयोग गर्न बाध्यभएको स्थानीय वाशु बडालको भनाइ छ ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत भने नगरमा रहेका बिग्रिएका एम्बुलेन्स मर्मत गरेर सहज रुपमा बिरामीलाई अस्पताल पुर्याउन सहयोग गर्ने बताउनुहुन्छ ।

भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन् ।

स्वास्थ्य कार्यालयको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्याङ्क छ । जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरी महिनौँंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन् ।

स्वास्थ्य कार्यालयका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको बताउनुभयो । स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था नाजुक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *