च्यासलबाट ओलीको चेतावनीः नकली शरणार्थी काण्डका धेरै क्यासेट आउँदैछन् अब क्यासेट बोल्छ
काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे ठगेर अमेरिका पठाउने अपराधका सन्र्दभमा छानविन गरिरहेको प्रहरीलाई निश्पक्ष र दृढतापूर्वक छानविन अघि बढ्न आग्रह गर्नुभएको छ । आजबाट सुरु केन्द्रीय कमिटीको पाँचौँ बैठकलाई सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । उहाँले पूर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमाण आगोको मुस्लो जस्तो आएपछि मात्रै पक्राउ परेको पनि दाबी गर्नुभयो । ‘अहिले अनुसन्धान पुलिसको हातमा छ । पुलिसलाई छाडिदिनुहोस् । पैसा–क–कसकले उठाए कहाँकहाँ बुझाए ? अहिले फनाले उठायो भनेर चर्चा गर्ने कुरा भएको छ ।’
उहाँले गएको जेठमा त्यहि विषयमा धेरै उजुरी परेको तथ्य प्रस्तुत गर्दै भन्नुभयो ।
‘गृह र प्रहरीमा उजुरी पर्यो । प्रहरीमा उजुरी परेपछि खास मान्छे पक्राउ परे । त्यसबेला आइजीपी को थियो ? कस्ले छाड्यो ? त्यो खोजौँ । तत्कालिन गृहमन्त्रीको प्रमाण आगोको मुस्लो जस्तो आएपछि पक्राउ परेका । जेठ ३० पक्राउ परेका मान्छेहरु किन छाडिए ?,’ उहाँले भन्नुभयो, ‘अब हामीले बोल्नु पर्देन क्यासेटले बोल्छ । अझै धेरै क्यासेट आउनेवाला छन् । हामी बोल्नु पर्दैन । त्यतिबेला त्यो मुद्धा किन छाड्न खोजियो ? त्यो प्रमाण आउने छ ।’
उहाँले त्यतिबेला गठबन्धनको सरकार रहेको संकेत गर्नुभयो । ‘त्यतिबेला एमालेको सरकार थियो ? गृहमन्त्री एमालेको थियो ?साँठगाठा गरेर छोडियो ?,’ उहाँले भन्नुभयो, ‘नेपालीलाई राज्यबिहीन बनाएर देश छोटाउने काम देशद्रोही काम हो । पीडितहरुका निवेदन किन कुल्चिए ? दोषीहरुलाई किन छाडियो ? पक्राउ परेका पीडितले सबै सत्य बकेपछि उनीहरुलाई चुपचुप भनेर सरकारले किन छाडेको ? त्यतिबेला केस दबाउन खोज्ने अनि अहिले फाँइफुँई गर्ने ? सबैका पृष्ठभूमि हामीलाई थाहा छ ।’