जेठदेखि चैतसम्म एमालेले देशव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने

काठमाडाैं, २९ वैशाख । नेकपा (एमाले) एक वर्षको कार्ययोजना देशव्यापी रूपमा बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीकाे पाँचाैं बैठकमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका आधारमा पार्टीले आगामी जेठदेखि चैतसम्म वार्षिक कार्ययोजना बनाई देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

पार्टी सुदृढीकरण गर्नका लागि एमालेले गत फागुन ५ गतेदेखि दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । उहाँले अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तहबाट सुझाव दिई भोलि बिहान बस्ने पार्टीको स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजना तयार पार्ने बताउनुभयो ।

“प्रदेश तहबाट प्राप्त सुझावलाई विश्लेषण गर्दै र केन्द्रीय नेतृत्वले सोचेका योजना समायोजना गर्दै स्थायी कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने छ”, उहाँले भन्नुभयो, “स्थायी कमिटीले तयार पारेको कार्ययोजनाको खाका भोलि नै बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि चैतसम्म एमालेले देशव्यापी सञ्चालन हुने गरी पारित गरिनेछ ।”

उहाँले जनताको पहिलो रोजाइबाट आगामी २०८४ सालको निर्वाचनमा पहिलो शक्ति बनाउने गरी कार्ययोजना बन्ने उहाँको भनाइ थियो । आजको केन्द्रीय कमिटी बैठकमा महासचिव शङ्कर पोखरेलले आगामी कार्ययोजनाका सम्बन्धमा मार्गदर्शन दिनुभएको थियो ।

यस्तै, आजको केन्द्रीय कमिटी बैठकमा पाँच प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् । नेता रिजालका अनुसार बागमती प्रदेशका तर्फबाट सचिव गोकर्णराज विष्ट, पेसागत विशेष समितिबाट स्थायी कमिटी सदस्य सुजिता शाक्य, सम्पर्क समन्वय समितिका तर्फबाट स्थायी कमिटी सदस्य लालबाबु पण्डित र गण्डकी प्रदेशका तर्फबाट सचिव पद्म आर्यालले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

हिजो र आज प्रस्तुत गरिएको मिसन ग्रासरुट अभियानको समीक्षामाथि सातवटा प्रदेश सात टोली तथा पेसागत विशेष र सम्पर्क समितिको एक टोली गरी समूहगत छलफलसमेत गरिएको रिजालले जानकारी दिनुभयो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *