‘मिसन योङ्ग’ अभियान र ‘देशैभरि–छोराछोरी’ को नारासहित एमाले अब गाउँ फर्किदैँ
काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले)को केन्द्रीय कमिटीको पाँचौँ बैठक पार्टीको बार्षिक कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैशाख २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का नौवटा प्रदेशका प्रतिवेदन प्रस्तुत भएका थिए भने त्यसमा छलफल भएको थियो । बैठकले १४ वटा निर्णय गर्दै सम्पन्न भएको छ ।
चौतफी घेराबन्दीका बिचमा पनि गत मंसिरमा सम्पन्न निर्वाचनमा उत्साहजनक परिणाम प्राप्त गरेको एमालेले वैशाखमा भएको उपनिर्वाचनमा भने आफूले मंसिरमा प्राप्त गरेको मत जोगाउन सकेन् । मुख्य गरेर युवालाई आकर्षित गर्न नसक्दा मतपरिणाम घटेसँगै एमालेले युवालाई आकर्षित गर्न दुई अभियान सञ्चालन गर्ने केन्द्रीय कमिटीबाट निर्णय गरेको छ । पहिलो ‘मिसन योङ्ग’ अभियान र दोस्रो ‘देशैभरि–छोराछोरी’ को नारासहितको अभियान । यी दुबै अभियान अन्र्तरगत एमाले पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सञ्चालन गर्ने अभियान चलाउने भएको छ । यी दुई महत्वपूर्ण अभियानसँगै एमालेले ‘डेलिभरीमार्फत् सुशासन, सुशासनसँगै डेभलपमेन्ट’ अभियान पनि चलाउने भएको छ ।
पार्टीको मिसन ग्रासरुट सम्पन्न भएको र अब पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय एमालेले गरेको छ । मिसन ग्रासरुटका क्रममा पार्टी सदस्यता नवीकरणको काम पूरा हुन बाँकी रहेकाले यस कार्यलाई असार मसान्तभित्र सम्पन्न गरिसक्ने निर्णय पनि एमालेले गरेको छ । त्यसैगरी पार्टीका कमिटीहरू भद्दा भएकाले अब प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय गरेको छ भने अधिवेशन गर्दा माथिबाट अर्थात पहिले प्रदेश कमिटी, त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गरिने निर्णय गरेको छ ।
तेस्रो निर्णय एमालेले वैचारिक–राजनीतिक प्रशिक्षणको कामलाई नियमित र योजनाबद्ध रुपमा अघि बढाउने गरेको छ । प्रशिक्षणको तह बर्गीकरण हुने र उच्च, माध्यमिक र आधारभूत तहका प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्यसामग्री र प्रशिक्षक तयार गर्ने पनि निर्णय गरेको छ । जनसंंगठनहरूको सुदृढीकरण तथा विस्तार अभियान चलाउने, जनसंगठनले मूलतः आधारभूत तहमा गैरपार्टी सदस्यलाई संगठित गरी पार्टीको जनआधार विस्तार गर्नुपर्ने हुँदा जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’को रुपमा रुपान्तरित गर्ने पनि एमालेले निर्णय गरेको छ ।
राजनीतिक ध्रूवीकरणलाई प्रभावकारी बनाउनका लागि पार्टी प्रवेशलाई अभियानका रुपमा अघि, जनप्रतिनिधिहरू र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरिको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूलाई प्रभावकारी रुपमा क्रियाशील बनाउने साथै ‘डेलिभरीमार्फत् सुशासन, सुशासनसँगै डेभलपमेन्ट’ को अवधारणामा सेवा प्रवाहको कार्यक्रम सञ्चालन गरिने पनि निर्णय गरेको छ । पार्टीको प्रभाव विस्तार गर्न संगठनका नयाँ क्षेत्रहरू पहिचान गरी सामाजिक र सामुदायिक क्षेत्रका संस्थाहरूले गर्ने कामप्रति पार्टीले बहन गर्नुपर्ने जिम्मेवारीबारे गम्भीरताका साथ अगाडि बढाउने एमालेको योजना छ ।
आर्थिक–सामाजिक रुपान्तरण र जनसरोकारका विषयहरूमा आधारित जनपरिचालन (अभियान रुपान्तरण) अभियान सञ्चालन गर्ने साथै, आगामी मङ्सिर महिनामा मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग पार्टी’ अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । युवाहरूका बीचमा पार्टी कामको विस्तार ‘मिसन योङ्ग’ अभियान सञ्चालन गर्ने, मिसन ग्रासरुटको दुईमहिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरूरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिने छ । साथै, ‘देशैभरि–छोराछोरी’ को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सञ्चालन गर्ने पनि एमालेले बैठकमा निर्णय गरेको छ ।
पार्टी कार्यालयमार्फत कामको समन्वय गरिने र सबै तहको पार्टी कामको महत्वपूर्ण अङ्गको रुपमा पार्टी कार्यालय सुदृढ र व्यवस्थित गरिने, प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने योजना अनुरुप आगामी कामलाई व्यवस्थित रुपमा अगाडि बढाउने पनि एमालेको योजना छ । प्रवासीहरूका बीचको कामलाई प्रभावकारी बनाउन र थप व्यवस्थित गर्न सम्बन्धित फाँटलाई निर्देशित गर्ने एमालेको योजना छ ।
त्यसैगरी पार्टी स्थापनाको ७५औं वर्ष (हीरक महोत्सव) समारोह बर्षैभरि विविध कार्यक्रमसहित मनाउने एमाले योजना छ । केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने, मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा एक बर्ष आफ्नो भूगोल बाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन गर्ने पनि एमालेको योजना छ ।