रेशम चौधरीकाे जन्मकैद फैसला सर्वोच्चद्वारा सदर
काठमाडाैं, २ जेठ । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सर्वोच्च अदालतकाे फैसलाले सदर गर्दै दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला गरेको हो ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि आन्दोलनकर्मीको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।
उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो ।
अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ ।
उक्त घटनामा जेल सजाय भोगिरहेका गङ्गाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।