जेल सजाय भोगिरहेका रेशम धैर्य हुँदा बाबुराम किन विचलित ?
काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले टीकापुर घटनामा जेल सजाय काटिरहेका रेशम चौधरीको जन्मकैद सदर गरेपछि धेरैले न्याय नमरेको प्रतिक्रिया दिएका छन् । चौधरीले उच्च अदालत, दिपालयको फैसलाविरुद्ध दिएको पुनरावेदनको निवेदनमा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार उनको विरुद्धमा फैसला सुनाएको हो । चौधरी २०७४ फागुन १५ गते पक्राउ परेका थिए ।
यो फैसलासँगै सबै भन्दा बढी चिन्ता र चासो पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत थारू विद्रोहका नेता रेशम चौधरीप्रति हार्दिक ऐक्यबद्धता भन्दै पोष्ट गर्नुभएको छ । बाबुरामले यसो भन्दै गर्दा चौैधरी स्वयमले भने जेलबाटै आफ्नो धारणा सार्वजनिक फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।
‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं ।’ उनले न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् । उनले आफू अझै पनि न्यायिक पर्खाइमा रहेको उल्लेख गरेका छन् । ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु,’ उनले भनेका छन्,’ चाँडै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्दैछु ।’
यसरी चौधरी स्वयंले आफू धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु भन्दै रत्तिभर मन विचलित छैन भन्दै गर्दा बाबुरामले भने विचलित हुँदै आफ्ना धारणाहरु सार्वजनिक गरिरहनु भएको छ ।