प्रधानमन्त्रीलाई २० सांसदका यस्ता थिए ५२ प्रश्नः लिखित जवाफका लागि प्रचण्डलाई एक घण्टा समय

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० जना प्रतिनिधिसभाका सदस्यहरूले प्रश्न सोधेका छन् । उनीहरुले सोधेका प्रश्न यस्ता थिए ।

१) ईश्वरी देवी न्यौपाने, नेपाली कांग्रेस

सरकारी स्कूलले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्ने विद्यमान परिस्थिति र मानसिकताका कारण दिनभरी काम गरेर हातमुख जोड्न धौ–धौ पर्ने अभिभावक पनि सकिनसकी बच्चाको भविष्यको लागि प्राइभेट स्कुलमा भर्ना गर्ने बाध्य छन् भने नेपालको डिग्री थन्काएर रोजगारीको लागि ५० डिग्रीको गर्मीमा खाडी मुलुकमा जान बाध्य छन्। सरकारी स्कुल सुधार गर्ने एवं देशमा नै युवालाई रोजगारी सृजना गर्ने सरकारले नीति के छ ? विदेशमा पढ्न जाँदा एक वर्षमा नेपालको कति रुपैयाँ विदेशिन्छ एवं बाहिर रोजगारीबाट एक वर्षमा कति रेमिट्यान्स भित्रिन्छ ? कृषि प्रधान देश सधै मलको हाहाकार छ, मल कारखाना खोल्ने सरकारको के नीति छ ?

२) पदम गिरी, नेकपा (एमाले)

५० खर्ब माथिको हाम्रो अर्थतन्त्रको आकार तर संघीय सरकारको सञ्चित कोषमा १५९ अर्बले घाटा आयोजनाहरुको भुक्तानी दिन ८० अर्बभन्दा बढी बाँकी करिव ६० प्रतिशत पालिका आफ्नो स्रोतबाट प्रशासन चलाउन असक्षम तर प्रदेश र स्थानीय तहले पाउने समानीकरण अनुदानमा ५० प्रतिशतले कटौती । यस्तो अवस्थामा राज्यको अनिवार्य दायित्व कसरी निर्वाह गर्नुहुन्छ ? संघको कोष खुम्चियो भन्दै प्रदेश र स्थानीय तहले पाउने अनुदान कटौती हुँदा उनीहरुले आफ्नो तजबिजमा बनाउने योजना र खर्चको सोधभर्ना कसरी हुन्छ ? उनीहरुले गर्नैपर्ने अनिवार्य दायित्व कसरी पूरा गर्छन् ? सरकारको आर्थिक मन्दीको सामना गर्ने योजना के छ ?

३) पूर्णबहादुर घर्ती, नेकपा (माओवादी)

बृहत् शान्ति सम्झौताको महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धित कार्य शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि कार्यान्वयन हुन सकिरहेको छैन। द्वन्द्वकालीन मुद्दाहरूलाई शान्ति सम्झौताको मर्म अनुसार समाधान गर्ने भन्दा पनि तत्कालीन विद्रोही पक्ष (माओवादी) लाई फौजदारी अभियोग सम्बन्धी मुद्दाद्वारा तह लगाउने आशयका अभिव्यक्ति र क्रियाकलापहरु सदनभित्र र सदन बाहिर भइरहेका छन्। तपाई बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता एवं तत्कालीन विद्रोही पक्षको सर्वोच्च कमाण्डर हुनुहन्छ। हाल तपाईको नेतृत्वमा रहेको सरकारले यसको समाधानका लागि भए गरेका प्रयासहरू र जटिलताहरु के के हुन ? र कहिलेसम्म समाधान हुन्छ ?

४) शिशिर खनाल, रास्वपा

२०७३ साउन २१ मा यहाँको नेतृत्वको सरकारले तराई–मधेस र थरुहट आन्दोलानको छानबिन गर्न लाल आयोग गठन गर्यो । त्यसपछि यहाँहरु पटक पटक सरकारमा जानु भयो। सरकारका न्युतनतम साझा कार्यक्रमा रिपोर्ट सार्वजनिक गर्ने भन्ने पनि राखियो । ७ बर्षपछि यहाँको नेतृत्वमा सरकार बनेको छ। थारुहटको आन्दोलनको जगमा उठेको उन्मुक्ति पार्टी पनि सरकारमा छ। रिपोर्ट कहिले सार्वजनिक सरकारले रिपोर्ट कहिले सार्वजनिक गर्छ ? सरकार विभिन्न आयोग बनाउँछ , उच्च शिक्षा आयोगको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन । आयोगको काममा करोडौं खर्च हुन्छ तर जनताको सु(सुचित हुने अधिकारलाई बन्धक बनाउँदै ती रिपोर्टहरु धूलो खाँदै बस्छन्। सार्बजनिक नभएका सबै रिपोर्ट कहिले सम्म सार्वजनिक गर्नुहुन्छ ?

५) ज्ञानबहादुर शाही, राप्रपा

पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति ४ महिना देखि देखा परेको छ तपाईंको समाधान के छ। र पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ ? तपाई संसदको विशेष समिति गठन गरेर यसको छानविन गर्न तयार हुनु हुन्छ ?

६) दीपक कार्की, जनता समाजवादी पार्टी

सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ– नागरिकता विधेयक यस अघिको सार्वभौम संसदले दुई पटक पारित गरेको तत्कालिन सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण नगरी संविधान मिच्ने काम गर्नु भयो कि भएन ? उक्त नागरिकता विधेयक प्रमाणीकरण नभई बसेकाले वर्तमान सम्माननीय राष्ट्रपतिज्यूले प्रमाणीकरण गर्नु हुन्छ वा हुँदैन ? उक्त नागरिक विधेयकबारे सम्माननीय प्रधानमन्त्रीज्यूको धारणा के छ ?

७) शेरबहादुर कुँवर, नेकपा एकीकृत समाजवादी

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँको ठगी धन्दा भएको छ। यस कार्यमा शिर्ष नेतृत्व नै संलग्न रहेको प्रमाण भेटिन थालेको समाचार सञ्चार माध्यमहरूबाट प्रसारण भइरहेको छ। अझ आरोपित भई थुनामा रहेका व्यक्तिहरूले भिभीआईपिका निर्देशनमा भए गरिएका बयानहरू दिइरहेका छन्। खासमा यो के कुरा हो ? मानौँ अहिलेका भिभीआईपीहरुका संलग्न भएको प्रमाणहरु जुट्यो भने के गर्नु हुन्छ ? उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुँदैन् ?
यसैगरी मुलुक अहिले आर्थिक रुपमा संकटग्रस्त छ। बजारमा पैसा अभावको कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन। जनताहरूलाई छाक जुटाउन मुस्किल परिरहेको छ। यो अवस्था कहिले सम्म रहने ? समाधानको लागि प्रधानमन्त्रीज्यूसँग योजना के छ ?

८) अनिता देवी, जनमत पार्टी

किसानहरुलाई धानको बीउ छर्ने समय आइसक्यो। हामी आफ्नो क्षेत्रमा जाँदा किसानहरुको एउटै माग हुन्छ। यसपालि पनि मल र बीउ समयमा पाउँछौँ कि पाउँदैनौँ ? किसानहरूको माग पूरा गराउन जनमत पार्टीले लामो समयसम्म किसान आन्दोलन पनि गर्यौँ, जनमत पार्टीका नेता कार्यकर्ताहरुले गोलीसमेत खाएँ, जेलसम्म गए। अझै अनकौँ झुठा मुद्दाहरु किसान आन्दोलनकारीहरु माथि लगाएकै छ। त्यो फिर्ता लिने पहल पनि सरकारले गरेन। के यो सरकारले पनि किसानलाई बेवास्ता गर्ने र किसान आन्दोलनकारीलाई दमन गर्ने नीति नै लिएको हो त ?

९) सर्वेन्द्र नाथ शुक्ल, लोकतान्त्रिक समाजवादी पार्टी

भ्रष्टाचार सम्वन्धी ऐन कानून, सुशासन अनुरुप राज्यको आचरण र सम्बन्धीत निकायहरू बीचको तालमेल को अभावले गर्दा भ्रष्टाचार विरुद्धको कार्यवाही यथेष्ट रुपमा अगाडी बढ्न सकेको छैन।यो समन्वय कहिलेसम्म र कसरी ?

१०) गंगाराम चौधरी, नागरिक उन्मुक्ति पार्टी

२०७२ सालमा थरुहट आन्दोलन गर्दा घटिएको घटनामा निर्दोष पूर्व माननीय रेशम लाल चौधरी सहित जेल जीवन विताइ रहेका राजबन्दी हरुलाई कहिले सम्म रिहाई हुन्छ सभामुख माबअलर्फत प्रश्न गर्दछु। टिकापुर घटनाको लाल आयोग प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?
सुदूरपश्चिम प्रदेशमा कहिले सम्म सरकारले पूर्णता पाउँछ ?

११) प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी

प्रधानमन्त्रीजी नेपाललाई स्वीजरलैण्ड र सिंगापुर भन्नु हुन्थ्यो ।अहिले नेपालीलाई भुटानी शरणार्थी किन बनाइयो ? रामबहादुर थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्रीजीकै सुरुका कार्यकर्ता होइनन् र ? अहिले पो एमाले भएका हुन्। प्रतिक थापा र सन्दीप रायमाझी लगायत नेपालीलाई भूटानी शरणार्थी बनाउने राज्यविरुद्धको कसुर, मानव बेचविखन तथा ओसार पसार, संगठीत अपराध, सरकारी कागजातर छाप दस्तखत किर्ते, सार्वजनिक सम्पत्तिको दुरुपयोगर भ्रष्टाचार र ठगीमा लाग्नुमा के प्रधानमन्त्रीहरु जिम्मेवार छैनन् ? चार महिनादेखि सहमति नभएको समिति भागवण्डाबारे यतिबेला नै सहमति कसरी भयो ? समितिको भागवण्डा सम्बन्धि सहमति भुटानी सरणार्थी काण्डमा संलग्न भएकाहरूलाई उन्मुक्ति दिने तयारी त होइन ? ख्वप विश्वविद्यालयको विधेयक पारित नगरी ज्ञानमा आधारित अर्थतन्त्र कसरी निर्माण हुन्छ ?

१२) चित्र बहादुर के.सी., राष्ट्रिय जनमोर्चा

नेपालमा नयाँ प्रधानमन्त्री भएपछि विदेश भ्रमणमा जाँदा पहिले भ्रमण भारतबाटै गर्नु पर्ने नेपालीको के बाध्यता होला ?

१३) प्रभू साह, आम जनता पार्टी

अहिलेसम्म नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरुको संख्या कति छ ? उनीहरुले किन नेपाल त्याग गरे ? नेपाल छोडेपछि उनीहरूको सम्पत्तिको अवस्था के छ ? विदेश लगे भने के कति सम्पत्ति लगे ? यसलाई रोक्न सरकारले अहिले सम्म के कस्तो कदम चालेको छ ? आखिर किन नेपालीहरुले नेपालमा भविष्य देख्न छाडे ?

१४) अमरेश कुमार सिंह, स्वतन्त्र

२०६३ साल पछि ठूला ठूला भ्रष्ट्राचारका काण्डहरु पोखरा विमानस्थल, आयल निगमको जग्गा खरिद, वाइडवडी जहाज खरिद, ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गा लिज प्रक्रिया, को कर छुट, बालुवाटारको ललितानिवास जग्गा काण्डको छानविन कहिले देखि सुरु हुन्छ ? साथै राजनीति रहित गुणस्तरीय सहज एवम सुलभ तरिकाले शिक्षा, स्वास्थ्य, न्याय एवम रोजगारी र किसानले समयमा नै मल बीउ र उत्पादनको उचित बजार पाउने दिन कहिले आउँछ ?

१५) योगेन्द्र मण्डल, स्वतन्त्र

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंले यस गरिमामय सदनको पहिलो सम्बोधनमा ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्छु भन्नुभएको थियो, तर अहिलेसम्म यो विषयमा कुनै प्रगति भएको देखिएन । यो समस्या समाधान गर्नुहुन्छ कि हुँदैन भन्ने मेरो प्रश्न रहेको छ ।

१६) दीपक गिरी, नेपाली कांग्रेस

वि.सं. २०११ सालमा स्थापना भएको दाङ तुल्सीपुर स्थित ऐतिहासिक र मध्यपश्चिमका जनताका लागि महत्वपूर्ण टरीगाउँ विमानस्थल हालसम्म स्तरोन्नति हुन सकेन। हाल तपाईंको प्रधानमन्त्री कालमा वा सो सरह जहाज अवतरण र उडान गर्न सक्नेगरी सो विमानस्थलको धावन मार्ग स्तरोन्नति हुँदैछ भनेर चर्चा चलेको छ। आगामी आ.व. २०८०–०८१ मा टरीगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्न नेपाल सरकारसँग के–कस्तो योजना र रणनीति रहेको छ ?

१७) रघुजी पन्त, नेकपा (एमाले)

नेपाल–भारत सम्बन्धमा विविध पक्ष (१९५) को सन्धी लगायतमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप) को प्रतिवेदन तपाईंको भ्रमणका बेलामा दुवै प्रधानमन्त्रीले बुझ्ने काम हुन्छ कि हुँदैन ? यदि भारत भ्रमणको बेला पनि बुझ्ने काम भएन भने यो प्रतिवेदन तपाईंले नेपाल फर्केपछि अहिले बुझ्नुहुन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित मिचिएका भूमि फिर्ता गरी नेपाल भारतबीच सीमा समस्या समाधान गर्ने विषय तपाईंको भ्रमण सूचीमा परेको छ कि छैन ?

१८) दिलेन्द्र प्रसाद बडू, नेपाली कांग्रेस

सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा देशको पश्चिमोत्तर सीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवादको एजेण्डा समावेश छ, छैन ? यस सन्दर्भमा उच्चस्तरीय वार्ताको कूटनीतिक तयारी के छ ?

१९) विद्या भट्टराई, नेकपा (एमाले)

भ्रष्टाचार, बेथिति र आर्थिक संकटले आम नागरिकलाई आक्रोसित बनाएको छ। चर्चित काण्डका रुपमा चर्चामा रहेका वाइडबडी, एनसेल, क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, ललिता निवास लगायतका काण्डहरूको फाइल कहिले खुल्छ ? नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषि पहिचान गरी कारवाहीको प्रक्रिया अघि बढ्दा आम नागरिक उत्साही भएको अवस्था छ । तर, संशय पनि छ, स्टन्ट, सस्तो लोकप्रियताका लागि मात्र हो कि ? यदि होइन भने अनुसन्धानको निष्पक्षता र पारदर्शिता रहन्छ भन्ने सवालमा सदनलाई कसरी विश्वस्त बनाउनुहुन्छ ?

२०) रामहरि खतिवडा, नेपाली कांग्रेस

प्रधानमन्त्री भएको ५ महिना भयो, देशको आर्थिक, सुशासन र राजनीतक स्थिरताका के के काम भए ? अझ ग्रामीण जनताको जीवनस्तर उकास्न के कस्ता कार्यक्रम छन् ? अझ भ्रष्टाचार निर्मुलनमा आफ्नो र अर्को भनेर छुट्टाउनु हुन्छ हुन्न ? र भूकम्प पिडितलाई बाँकी दोस्रो र तेस्रो किस्ता रकम कहिले सम्म जान्छ ?