अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

कास्की, १० जेठ । अनलाइनबाट सामाजिक सञ्जालको दुरूपयाेग गरी नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई पक्राउ गरेको हाे ।

भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनाका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *