न्यूयोर्कको सडकलाई सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण

काठमाडाैं, १६ जेठ । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।
उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको हाे ।
क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भन्नुभयो “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो । ”
सोमवार आयोजित कार्यक्रमपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो ।”
कार्यक्रममा सहभागी हुनुभएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आउनुभएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गर्नुभयो ।
यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो ।