प्रधानमन्त्रीसहित एक सयभन्दा बढीकाे जम्बाे टाेली चारदिने भारत भ्रमणका लागि जाँदै

काठमाडाैं, १७ जेठ । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितकाे जम्बाे टाेली आज जाँदै हुनुहुन्छ ।

चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। टाेली नेपाल एअरलाइन्सको उडानमार्फत दिउँसो १ बजे जानुहुनेछ ।

दाहालको भ्रमण टोलीमा उहाँको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव हुनुहुन्छ। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल जानुहुनेछ ।

टोलीमा मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल हुनुहुन्छ ।

त्यस्तै प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिवसमेत रहनुभएकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल, प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि हुनुहुन्छ ।

भ्रमण टोलीमा सहसचिव र उपसचिव तहका अधिकारीका पनि लामो सूची छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालपनि रहनुभएकाे छ ।

त्यस्तै उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनुहुन्छ ।

यस्तै, सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ। सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ भने ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु अन्य खर्चमा जानुहुनेछ ।

प्रधानमन्त्रीसहितको टोलीलाई बुधबार भारतका विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेट्ने कार्यक्रम छ।

त्यस्तै जेठ १८ गते विहिबार प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीकाे औपचारिक वार्ताका साथै विभिन्न सम्झौता गर्नुहुनेछ । सम्झौतापछि प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग भेटवार्ता गर्ने तयारी रहेकाे छ ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन जानुहुनेछ । त्यहाँ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतको हिन्दुबादी संगठन आरएसएसका नेताहरूसँग भेटघाट गरेर टाेली २० गते स्वदेश फर्किनुहुनेछ ।