फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १७ जेठ । वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।

पाख्रिनले ४ जना पीडितलाई मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पाख्रिनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *