त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो चरेससहित विदेशी नागरिक पक्राउ
काठमाडौं, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो चरेससहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जर्मनी नागरिक ६३ वर्षीय पउल वेस्टर्स रहेका छन् । उनलाई सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेको अवस्थामा विमानस्थलबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेका पउलले सुटकेसमा फल्सबटम बनाएर चरेस लुकाई इस्तानबुल लैजाने योजनामा रहेको विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
प्रहरीलाई शङ्का लागेर पउलको सुटकेस खोल्दा ६ किलो ८ सय ६० ग्राम चरेस फेला परेको ठकुरीले बताए । उनलाई थप अनुसन्धानका लागि लागू औषध नियन्त्रण ब्युरोमा पठाएको प्रहरीले जनाएकाे छ ।