अवैधरूपमा राखिएकाे हुचिललाई बासस्थानमै छोडियो

गोरखा, ३० जेठ । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ ।

यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई डिभिजन वन कार्यालय गोरखाले १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको हाे ।

डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिनुभयो ।

हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिदलखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकलेले बताउनुभयो ।

“हुचिललाई उसको साविकको बासस्थानबाहेक अन्य ठाँउमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ”, वनअधिकृत गायकले भन्नुभयो, “यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक बासस्थानमा छाडिएको हो ।”

बरामद पक्षीको जीवनरक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडेको हो ।

वडाध्यक्ष दिलीपनारायण थापा, स्थानीयवासी, प्रहरी र पत्रकारको रहोवरमा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडिएको वनअधिकृत गायकले जानकारीले दिनुभयो ।

नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठूलो हुने वनअधिकृत गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये नौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वनअधिकृत गायकले जानकारी दिनुभयो ।