काठमाडाैंकाे गोकर्णेश्वरमा देखिएको दादुरा नियन्त्रण

काठमाडाैं, ३० जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ । गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयका चारजनामा देखिएको दादुरा नियन्त्रणमा आएकाे हाे ।

यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद देखिएका पाँचजनाको परीक्षणमा चारमा दादुरा भएको पुष्टि भएको थियो ।

“दादुरा देखिएपछि ती चार जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उहाँले भन्नुभयो, “अहिले उक्त क्षेत्रमा दादुरा प्रकोप नियन्त्रणमा रहेको छ, हामीले फैलिन दिएनौँ ।”

उहाँले उक्त विद्यालयका १५ वर्षमुनिका चार सय १९ जनालाई दादुराविरुद्धको खोप पनि दिइएको जानकारी दिनुभयो । विद्यालयमा रहेका पाँच सय ६० को परीक्षणमा ६३ जनामा दादुरा जस्तै लक्षण र १६ जनामा बान्ता तथा ज्वरो आउने दादुरा जस्तै समस्या देखिएको थियो ।

शाखाप्रमुख उपाध्यायले ती दादुराका शङ्कास्पद देखिएका बिरामीलाई भिटामिन ‘ए’ पनि खुवाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *