जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने
काठमाडाैं, ३० जेठ । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् ।
माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागेको जानकारी दिएको हो । समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँभित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस तथा जिपलाई असार १ गतेदेखि गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेकाले उक्त निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको संयोजक आचार्यले बताउनुभयो ।
यसअघि माइक्रोबस तथा जिप बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोँगबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउण्टर बसपार्कभित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिनसमेत उहाँले यात्रुलाई आग्रह समेत गर्नुभयो ।
हाल काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, वेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका छन् ।
संयोजक आचार्यले नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुृउदेश्यीय प्रालिसँगसमेत सम्झौता गरिसकेको बताउनुभयो । “नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्सेसँग सहकार्य गरेर अगाडि बढेका छौँ” संयोजक आचार्यले भन्नुभयो ।
उहाँले नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समयसम्म ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्नसमेत महानगरपालिकासँग आग्रह गर्नुभयो ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो ।