वानएक्स बेट खेलाएर करोडौंको कारोबार, पाँच जना पक्राउ
काठमाडाैं, ३१ जेठ । बेटिङ अनलाइनमार्फत कराेडाैंकाे काराेबार गरेकाे आराेपमा प्रहरीले पाँच जनालाई उपत्यकाकाे विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न स्थानबाट पक्राउ परेकाहरू पाँच जनालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूको खातामा करोडौं रकमको कारोबार भएको देखिएको छ। उहाँका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ।
त्यस्तै श्रेष्ठको खातामा ५ करोड ५४ लाख ६६ हजार, चन्दको खातामा ४५ लाख र लामिछानेको खातामा २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको देखिएको एसएसपी केसीले बताउनुभयाे ।
प्रहरीका अनुसार आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो। उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको प्रमुख एसएसपी केसी बताएको छ।