बोक्सीको आरोप लगाउने दुईजनालाई दाङबाट पक्राउ

दाङ, ४ असार । बोक्सीको आरोप लगाउने दुईजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङलाई जिल्ला प्रहरी कार्यालय दाङले बोक्सीको आरोप लगाएकाले पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लागेउ भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताउनुभएको छ ।