अढाई वर्षकी छोरी च्यापेर एक परिवार पाँच दिनदेखि ओढारमा

ताप्लेजुङ, ४ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ७ सुरुम्खिमका २८ वर्षीय डेनिस गुरुङ र २१ वर्षीया अनिता राई अढाइ वर्षकी छोरी च्यापेर पाँच दिनदेखि गाउँबस्तीभन्दा टाढाको ओढारमा बस्दै आएका छन् ।

संधैं बस्दै आएको याक्सा (गोठ) नजिकै अविरल वर्षासँगै पहिरो गएपछि गाउँबस्तीतर्फ आउन नसक्दा ओढारमा गएर आश्रय लिएर बसेका हुन् ।

गाउँको घरबाट एक दिनको पैदल दूरीमा रहेको गोठबाट फर्किन तीन वटा खोला वर्षाका कारण तर्न मुस्किल भएकाले ओढारमै बस्नुपर्ने बाध्यता भएको डेनिसकी आमा चेतमाया गुरुङले बताइन् ।

‘‘नानीहरु पाँच दिनदेखि ओढारमै छन्, गाउँमा आउने अवस्था छैन, हिजोसम्म फोन लाग्दैथियो, हामी सुरक्षित भएर ओढारमा छौँ भन्दै थिए, आज नेटवर्क नभएर होकी फोन सम्पर्क भएको छैन, गोठका २५ वटा बाख्रा पनि पहिरोले बगाएछ, न यताबाट जान सकिन्छ, नत उताबाट आउने उपाय छ, कसरी उद्धार गर्ने भन्ने चिन्ता छ”, चेतमायाले फोनमा भनेका छन् ।

वर्षासँगै याक्सा आसपासमा पहिरो जान थालेपछि ओढ्ने ओछ्याउनेसहित सामान बोकेर डेनिस परिवार ओढारमा गएका थिए । बेलाबेलामा खानेकुरा ओसारपसार गर्नुपर्ने हुँदा भएको खानेकुरा सकिनै लागेको बताउने उनीहरुसँग आज भने फोन सम्पर्क नभएको चेतमायाको भनाइ थियो ।

शनिबार उद्धारका लागि बुरुम्खिमबाट तीन जनाको टोली पठाउने तयारी भए पनि वर्षाका कारण उक्त टोली जानसकेन । उद्धारमा समस्या भएकाले सहयोग पुर्याउन डेनिस परिवारले आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *