उपप्राध्यापक प्रेम चलाउने पक्राउ
काठमाडौं, ४ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत परिसरबाट पक्राउ परेका छन् ।
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका हुन् ।
मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा पक्राउ परेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानमुद्दा विचाराधीन छ ।
मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको तर जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयसँगै चलाउनेले आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।