४ लाख रूपैयाँ घुस सहित ग्रामीण सडक सुधार आयोजना झापाका तीन कर्मचारी पक्राउ
झापा, ५ असार । ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापाका तीन कर्मचारी ४ लाख रूपैयाँ घुस लिंदालिंदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको हाे ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेका छन् ।
सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा आज नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।