नेपाल विद्युत् प्राधिकरणका मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचार सम्वन्धी मुद्दा दायर

काठमाडाैं, ७ असार । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनीयर कृष्णप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेकाे भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवले प्राधिकरणको विभिन्न कार्यालयमा कार्यरत रहँदा स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो जरिवाना, कैद सजायको मागसहित मुद्दा दायर गरेको हाे ।

आयोगका अनुसार २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका यादवको वैध आय रु एक करोड ७१ लाख ४६ हजार ४४ बराबर देखिन्छ ।

इञ्जीनीयर यादव २०७९ जेठ १ गतेसम्म सेवामा रहेको पाइएको छ । सो अवधिमा रु तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ ।

वैध आय भन्दा बढी रहेको रु एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ । आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ ।

आयोगले स्रोत नखुलेको सम्पत्ति जफथ गर्न समेत माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *