त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साडे ४ केजी चरेससहित एकजना पक्राउ
काठमाडाैं, ८ असार । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध ४ केजी ७ सय ५० ग्राम चरेससहित प्रहरीले झापा भद्रपुर नगरपालिका-४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बुलाई बिहीबार दिउँसो पक्राउ गरेको हाे ।
प्रहरीले एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा फेला पारेकाे हाे ।
उनले लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरेर विस्कुट जस्ताे बनाएर राखेकाे र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध चरेस फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।