अनलाइन सट्टेबाजीमा जुवा खेलाउने यी हुन राजासहितका चार आरोपी

काठमाडाैं, ११ असार । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने राजा चौधरीसहितका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम खेलाएकाेमा पक्राउ गरीएकाे हाे ।

उनीहरूले हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हुन् । बिशेष सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरुको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौँ महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी आज थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेगमीले बताउनुभयो ।

सोधपुछ गर्दा उनीहरुले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरुमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ ।

उनीहरुले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुमा बारा जितपुर सिमरा घर भई काठमाडौंको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौंको ठमेल बस्ने आशा गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *