दाइजोको लाेभमा विवाह रद्द गर्न खोज्ने बेहुला काठमाडाैंकाे मण्डपबाटै पक्राउ

काठमाडौं, १२ असार । दाइजोको लाेभमा परेर विवाह रद्द गर्न खोज्ने बेहुला काठमाडाैंकाे एक पार्टी प्यालेसकाे मण्डपबाटै पक्राउ परेका छन् ।

आफुले मागेको जति दाइजो नपाएपछि विवाह रद्द गर्ने धम्की दिएपछि प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको हाे ।

मागेको जति दाइजो नपाएकाे भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई काठमाडौं प्रहरीले विवाह स्थलबाटै पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर पनि रहेकाे पाइएकाे प्रहरीले जनाएकाे छ।

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेपछि बेहुलीपक्षले प्रहरीलाई खवर गरेका थिए ।

बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको छ भने केटा पक्षले गालीसमेत गरेको प्रहरीले जनाएको छ।

प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *