एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैनः योगेश भट्टराई

काठमाडौं, १४ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताउनु भएको छ । सचिव भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो बताउनु भएको हो ।

उहाँले मदन भण्डारी फाउन्डेसन ईलामले ७२ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केही व्यक्तिले कालो झण्डा देखाएर विरोध गरेको भन्दै यस्तो सन्देश लेख्नु भएको हो ।

‘कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ। नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो,’ उहाँले लेख्नु भएको छ, ‘एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र म जस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ ।’

उहाँले विरोध गर्नुपर्छ तर शान्तिपूर्ण मान्यताभित्र रहेछ भन्दै केही सुझाव पनि दिनुभएको छ । ‘उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन,’ उहाँले भन्नुभएको छ, ‘एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम उहाँहरुका लागि पनि लज्जाको बिषय हो ।’