रौतहटकाे मौलापुरमा घरमै मृत भेटिए आमा र २० महिनाकी छोरी, हत्या भएकाे आशंका
रौतहट, १६ असार । रौतहटकाे माैलापुरमा आमा छोरी मृत फेला परेका छन्।
मौलापुर नगरपालिका-४ स्थित पतौरा टोलमा शनिबार बिहान २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्।
बालिका आरुहीको शव पंखामा झुन्डयाइएको अवस्थामा र कविताको शव घरबाट बाहिरिने भर्याङमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक वीर वबहादुर बुढामगरले बताउनुभयाे ।
उहाँका अनुसार कविताको घाँटीमा पनि सल बाँधिएको अवस्थामा छ। मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह सपरिवार घटनापछि फरार भएका छन् ।
माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविताका पिता विजय शंकर साहले घटनाबारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेरे जानकारी दिएको बताए ।
विवाहमा कबुलेको दाइजो नदिँदा छोरीलाई सासु र ज्वाँइले अढाई वर्षदेखि यातना दिँदै आएको विजयशंकरको आरोप छ।
छाेरी र ज्वाइँबीच पटक-पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविताका पिता विजयशंकरले ज्वाइँ धिरेन्द्रले कहिले नगद कहिले पलङ्ग, कहिले सुनकाे औंठी र सिक्री मागेको बताए ।
‘विहेमा अरु सामान दिएकै थिएँ । धेरै कर्जा भएपछि पलंग, सुनको औँठी र सिकरी पछि दिने भनेकै थियौँ तर उसले तुरन्तै चाहियो भनेर मेरी छोरीलाई कुट्थे ।
‘हाम्रो गरिबी देखेर मेरी छोरीले कुटेको र सामान मागेको कुरा केही दिनसम्म बताइनन् । जब अति गर्न थाले तब मात्रै मलाई भन्न आइन्,’ उनले भने ।
स्थानीयका अनुसार ससुराको यातना सहन नसकेपछि कविता श्रीमानसँग छुटिएर अलग्गै बस्न चाहेकी थिइन् ।
चारदिन अघि कविताकी श्रीमान धिरेन्द्रले उनको मोबाइल खासेका थिए। त्यसयता छोरीसँग कुराकानी नभएको उनकी बुवा विजयशंकरले बताए।
विजयशंकरले ज्वाइँ र सम्धीसहितका व्यक्ति मिलेर आफ्नी छोरी र नातिनीको हत्या गरेको आरोप लगाए । प्रहरीका अनुसार अनुसन्धान भइरहेकाे हुनाले शव पाेष्टमार्टम पछि सबैकुरा खुल्ने बताए ।
