ज्याबल समातेर काष्ठकलामा मग्न प्रशिक्षार्थीसँग रमाउँदै उपमेयर सुनिता (भिडियो रिपोर्ट)
काठमाडौं, १७ असार । कुनै समय सुनसान रहने काठमाडौंँ महानगरको टेकु पचलीमा अवस्थित लक्ष्मेश्वर मन्दिर परिसर हिजो–आज गुलजार बन्न थालेको छ । काठमाडौं अनि त्यसमा पनि अझ भन्ने हो भने नेवार समूदायमा कला, संकृति, सम्पदा, खानपान, जात्रा आदिको बैग्लै खालको संस्कृति र पहिचान छ । यहाँका संगीतकला, काष्ठकला, मुर्तिकला र चित्रकलाको त झन बेग्लै महत्व रहिआएको छ । यहि महत्वलाई जीवन्त राख्न काठमाडौं महानगरपालिकाले पछिल्लो सयम विभिन्न खाले गतिविधि गर्दै आएको छ ।
हो, पछिल्लो सयम बागमती नदी किनारमा रहेको यो मन्दिर परिसर संगीतकला, काष्ठकला, मुर्तिकला र चित्रकलाका प्रशिक्षणका कारण गुलजार बन्दै आएको हो । २०७२ सालको शक्तिशाली भूकम्पपछि भग्नावशेष यी मन्दिर र सतल पुनर्निर्माणपछि विस्तारै गुलजार बन्न थालेपछि यहाँको कला, संस्कृति र सम्पदा पनि बौरिन थालेको अनुभूत गराउने आशालाग्दो एउटा जीवन्न दृष्य जस्तो पनि देखिन्थ्यो त्यो गुलजार मन्दिर र सतल परिसर ।
हो, केही दिन अघि यहि पटाङ्गिनी र सतलमा काठमाडौं महानगरपालिकाले जन्मदेखि मृत्युसम्मको नेवारी संस्कारका लागि आवश्यक पर्ने सुकुल बुन्ने प्रशिक्षण दिएको थियो भने अर्केष्टाको प्रशिक्षण पनि यहि दिइएको थियो ।
अहिले भने यहि ठाउँमा काठमाडौं महानगरपालिकाले नेपाल हस्तकला महासंघसँगको सहकार्यमा ४५ दिने काष्ठकला उच्च सीप प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रहेछ । मैत्रिन्युजको टीम शुक्रबारको गोधूलिमा त्यहाँको रिपोटिङ गर्न पुग्दा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि टेकु पचलीको लक्ष्मेश्वर मन्दिर परिसर टुप्पुक्क आइपुग्नुभयो । डंगोल गोधूलिमा त्यहाँ पुग्दा कालिगडहरु ज्याबल समातेर काठमा विभिन्न खालका बुट्टा कुँदिरहेका थिए । डंगोल मन्दिरको ढोकाबाट पटाङ्गिनी छिर्दै गर्दा कालिगड सतलमा काठको ठूलो ढोकामा विभिन्न खाले बुट्टा कुँद्न व्यस्त थिए ।
हँसिलो मुस्कानसहित डंगोल सबै भन्दा पहिला त्यहि ढोका कुँदिरहेको ठाउँमा पुग्नुभयो । प्रशिक्षार्थीहरुले तयार पारेको सुन्दर काठको ढोका देखेपछि डंगोल निकै उत्साहित हुनुभयो । मुख्य प्रशिक्षक महेश शाक्यले ढोकाबारे केही जानकारी दिएपछि डंगोलले मुस्कानसहित थप उत्साहित हुँदै महानगरको नयाँ कार्यालयको आफ्नो कार्यकक्षमा त्यो ढोका राख्ने मनसाय व्यक्त गर्नुभयो ।
मन्दिरको पटाङ्गिनीमा उमेयर डंगोलले प्रशिक्षार्थीहरुले तयार पारेका सँझ्याः का कलात्मक फोटो फ्रेमलाई ओल्टाइ–पल्टाई गर्नुभयो । डंगोल निरीक्षणमा व्यस्त बन्दा प्रशिक्षर्थी कालिगडहरु औजार समातेर काष्ठकला भर्नमा व्यस्त थिए ।
केहीबेरको निरीक्षणपछि ललितपुरको बुङमतीबाट आउनु भएका मुख्य प्रशिक्षक शाक्यले उपमेयर डंगोललाई ज्याबल समेतर बुट्टा कुँद्न सिकाउनुभयो । उपमेयर डंगोल पनि अनुशासित प्रशिक्षार्थी जस्तो शाक्यले दिएका औजार समातेर मयुँर कुँदन थाल्नुभयो ।
उहाँले सीपलाई कमाइसँग पनि जोड्ने महानगरपालिकाको योजना रहेको भन्दै डंगोलले आर्थिक रुपमा बलियो बनाउन सीपसँग जोड्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले नीति, कार्यक्रम र बजेटमै रोजगारी र सीपलाई प्राथमिकतामा राखेर ल्याएको भन्दै एक वडा एक उद्यमशील नमूना कार्यक्रम सञ्चालनमा जोड दिएको बताउनुभयो ।
हामी डंगोलसँग कुराकानीमा व्यस्त रहेकै बेला एक संस्थाको सहकार्यमा सम्पदा अवलोकनका लागि आएका विश्व निकेतन विद्यालयका बालबालिकाहरु सुनिता म्याम, सुनिता म्याम भन्दै झुम्मिन आए । डंगोल एकछिन ती बालबालिकासँग रमाउनुभयो ।
हामी त्यहाँका प्रशिक्षार्थीहरुसँग कुराकानी गर्न थाल्यौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर नै निरीक्षणका लागि आउँदा बसुन्धरा श्रेष्ठको खुुशी थामिनसक्नुको रहेछ । मयुरको बुट्टा कुँद्न व्यस्त श्रेष्ठले केही सिक्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो । श्रेष्ठ मात्रै होइन ललितपुरदेखि प्रशिक्षार्थीका रुपमा आउनु भएकी उर्मिला शाक्य पनि खुशी देखिनुहुन्थ्यो । यस अघि पनि प्रशिक्षण लिनु भएकी शाक्यले पनि महानगरपालिकाको आयोजनामा सीप सिक्ने अवसर पाउँदा खुशी देखिनुहुन्थ्यो ।
ललितकला र चित्रकलाका विद्यार्थी विनोदकुमार गुप्तालाई यो ४५ दिने प्रशिक्षणले निकै ठूलो आत्मबल बढाएको रहेछ । कलात्मक झ्याल बनाउन व्यस्त रमेश मानन्धरले पनि खुशी व्यक्त गर्नुभयो । प्रशिक्षक महेश शाक्यले पनि सीप सिकाउन पाउँदा खुशी लागेको बताउनुभयो ।