व्यवसायी शरद गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेत र अमरबहादुरलाई जन्मकैद, सात जनाले पाए सफाइ
काठमाडाैं, २० असार । काठमाडौं जिल्ला अदालतले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्य योजनाकार समिरमान बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको फैसला भएको छ।
न्यायाधीश केशवप्रसाद घिमिरेले मुख्य योजनाकार बस्नेत र रानालाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकाे हाे ।
काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायी गौचनको हत्या गरेकाे थिए। कर्तव्य ज्यान कसुरमा अदालतले असार १२ गते नै बस्नेतलगायतलाई दोषी ठहर गरेको थियो।
गौचनको हत्यामा पक्राउ परेका लोप्चन लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद र माया शेरचनलाई १० वर्ष कैद सुनाएको छ।
माया शेरचनलाई पूरक अनुसन्धानबाट अदालतमा पेश गरिएको थियो। उनलाई हतियारसम्बन्धी कसुरमा पनि सजाय निर्धारण गरेको छ ।
त्यस्तै, हत्यामा संलग्न धनराज योङहाङ, गुम्बी भन्ने श्यामबहादुर गुम्बी, कालेदारी भन्ने रोशन बुढाथोकी र राजिव तामाङ भन्ने राजिव स्याङतानलाई जनही पाँच वर्ष कैद निर्धारण गरेकाे छ।
बसन्त थेबे र मनोज पुन भन्ने मनोज बुढामगरको दाबी भने खारेज भएको छ। उनीहरूको निधन भइसकेको हुँदा इजलासले खारेज गरिदिएको हाे।
न्यायाधीश घिमिरेको इजलासले सात जनालाई सफाइसमेत दिएको छ। सफाइ पाउनेमा शिवजी महतो, प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, सूर्यबहादुर बाजी, राजकुमार साह, मुकेशकुमार पाण्डे र श्याम गुप्ता रहेका छन् ।
बुधबारै उनीहरूलाई न्यायाधीश घिमिरेको इजलासले सफाइ दिएकाे हाे ।
निर्माण व्यवसायी गौचनको २३ असोज २०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या भएको थियो । शान्तिनगरस्थित निवासबाट बा १३ च ४९४८ नम्बरको प्राडो गाडी चढेर महासंघको अनामनगरमा रहेको कार्यालयमा जाने क्रममा उनमथि गोली प्रहार भएको थियो ।