इलाममा श्रीमतीको हत्या पश्चात श्रीमान्ले गरे आत्महत्या

इलाम, २२ असार । इलाममा श्रीमतीको हत्या पश्चात श्रीमान्ले आत्महत्या गरेका छन् ।

माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको हाे ।

इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेका अनुसार राधिका पिताम्बरी जेठी श्रीमती हुन् ।

गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी उपरीक्षक घिमिरे बताउनुभयो ।

राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।