माेटरसाइकल प्रयाेग गरेर दिनडहाडै महिलाको सिक्री लुट्ने पाँचजना पक्राउ
काठमाडौं, २४ असार । माेटरसाइकल प्रयाेग गरेर दिनडहाडै महिलाको सुनको सिक्री लुटपाट गर्ने पाँचजना काठमाडौंबाट पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्नहरूलाई पक्राउ गरेर सार्वजनिक गरेकाे हाे ।
प्रहरीले रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेका हुन् ।
पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरुको घाँटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताउनुभयाे ।
प्रहरी वरिष्ठ उपरीक्षक डा.केसीका अनुसार बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्दा ग्रुप नै संलग्न रहेको पाइएकाे छ ।
अनुसन्धानका क्रममा लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।
प्रहरीले उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ।
लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताउनुभयाे ।
