मर्निङवामा रेख्खी गर्दै लुट्थे महिलाको सिक्री, प्रहरी हिरासतमै रहँदा चिनजान, जेलबाट छुटेपछि सांगठनिक लुटपाट
काठमाडौं, २५ असार । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रृखलाबद्धरुपमा रुपमा महिलाहरुको घाँटीबाट सुनकाे सिक्री लुटपाट गर्ने एक समूहलाई पक्राउ गरी सार्वजनिक गर्याे ।
काठमाडाैंका विभिन्न स्थानमा महिलाहरुले लगाएकाे सुनकाे सिक्री लुटिएकाे जाहेरीपछि प्रहरीकाे गहन अनुसन्धानले सिक्री लुटेकाे आरोपमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीका अनुसार घटनामा संलग्न रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका छन् ।
महाशाखा प्रमुख डा केसीका अनुसार पक्राउ परेकाहरुको समूहले असार १ गतेदेखि २० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेका छन् ।
काठमाडौंको कपुरधारा बस्ने ४६ वर्षीय रमा पाण्डे असार १ गते बिहान साढे ४ बजे मर्निङ वाकमा निस्किएको समयमा अज्ञात २ जना व्यक्तिहरुले घाटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटेर भागे । पाण्डेले हुलियाकाे आधारमा प्रहरीमा उजुरी गरिन् ।
साेहीदिन टोखास्थित ग्राण्डी अस्पतालनजिक बिहानकाे पाैने छ बजे मर्निङवाकमा निस्केकी ४५ वर्षीय सरस्वती खतिवडाको १ तोलाको सुनको सिक्री अज्ञात २ जना व्यक्तिहरुलेनै लुटिए । लुटपाट गर्नेहरू नम्बर नखुलेकाे माेटरसाइकलमा भागे ।
तीन असारमा उस्तै समयमा नागर्जुनस्थित बुद्धचोकमा मर्निङ वाकमा निस्केकी वर्ष ५५ की रेखा घिमिरेकाे पाैने दुइताेलाकाे सिक्री नम्बर नखुलेकाे मोटरसाइकलमा आएका २ जनाले लुटेर भागे ।
१३ असारमा अन्दाजी ६५/७०का मंगली माया डंगोलकाे सुनकाे सिक्री टोखा-३ विष्णुमति पुलनजिकबाट उस्तै समयमा लुटिए ।
१९ असारमा पनि उस्तै प्रकृतिकाे घटना दुइवटा घट्याे । बिहानकाे साँडे चारदेखि पाैने छ बजेकाे समयमा टोखा-४ कृष्ण मन्दिरबाट ३४ की गंगा राना मगरकाे एक ताेलाकाे सिक्री र चक्रपथ बंगलामुखी मन्दिरनजिकबाट मर्निङवाकमै हिँडेकी ६० वर्षकी कान्छी बेसकाे आधा ताेलाकाे सुनको सिक्री लुटेर नम्बर नखुलेकाे मोटरसाइकलमै भागे ।
घटनाकाे भाेलीपल्टै असार २० गते बिहानकाे पाैने पाँच बजेदेखि पाैने छ बजेकाे समयमा टोखा शेर्पा पेट्रोल पम्प नजिकबाट ४३ वर्षकी रिता श्रेष्ठकाे पाैने ताेला र चागल, जनसेवा मार्गबाट ६५ वर्षकी सरस्वती डंगोलकाे सवा एक ताेला सुनकाे सिक्री अज्ञात व्यक्तिहरूले लुटेर भागे ।
लुटेराहरुले २० दिनमा नै ८ जनाको सिक्री लुटेका थिए । सिसिटिभी नभएको ठाउँहरु पारेर मर्निङवामा हिँडेका महिलाहरूकाे सिक्री लुट्ने व्यक्तिहरूकाे पहिचान गर्न प्रहरीलाईनै समस्या भएको थियो। प्रहरीले गहन अनुसन्धान गर्दै जाँदा अन्तिम लुटेराकाे निसाना पत्ता लगाएरै छाेड्याे ।
प्रहरीले असार २० गते चागल, जनसेवा मार्गमा मर्निङवाक गरिरहेकी महिलाको सिक्री लुटिएको सिसिटिभी फुटेज फेला पार्यो। जुन भिडियोमा लुटेराहरु मोटरसाइकलमा आएर मर्निङ वाक गरिरहेकी महिलाले घाँटीमा लगाएको सिक्रीको रेख्खी गरी लुटेको प्रष्ट देखिएको छ। प्रहरीले उक्त भिडियो फेला पारेपछि लुटेरसम्म पुग्ने बाटाे भेटाएको थियो।
पछिल्लो समय २०७९ चैतमा महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले चोरीको आरोपमा नियन्त्रणमा लिएको व्यक्तिनै लुटपाटमा संलग्न भेटिए ।
पक्राउ परेकामध्ये रविन दमाई यसअघि पनि चोरीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्ति थिए । अर्का उमेश क्षेत्री भने मोटरसाइकल चोरीको घटनामा थुनामा रहेका थिए। प्रहरीका अनुसार हिरासतमा रहेकै समयमा उनीहरूकाे चिनजान भएको हाे । हिरासतमा चिनजान भई छुटेका उनीहरुले छुटेको केही दिनबाट नै सिक्री लुट्न सुरु गरेका थिए।
प्रहरीका अनुसार हिरासतमै चिनजान भएका काभ्रे पाँचखाल नगरपालिका -७ का उमेश र रामेछाप लिखु गाउँपालिका-१ घर भएका रविनले योजना बनाएर लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरूले लुटपाटमा प्रयाेग गरेका मोटरसाइकल पनी चोरीको नै भएको पाइएको छ।
रविन र उमेशले लुटपाट गरेको सुन जम्मा गर्ने काम १८ वर्षका रवि विश्वकर्माले गर्थे। रविले जम्मा गरेको सुन राहुल माझी काम गर्ने सुन पसलमा पुर्याउँथे। राहुलले जम्मा गरेर ल्याएको सुन पगाल्ने काम गर्थे। उनीहरूले लुटपाट गरेको सुन राहुल दमाईले पगालेर मात्रै बेच्ने गरेको देखिएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे ।
श्रीकान्त माइती भने सुनचाँदी पसलका संचालक हुन्। लुटेराहरुले लुटेको सुन उनको पसलमा लगेर बेच्ने गरेका थिए। प्रहरीले उनीहरुको साथबाट ११.२ ग्रामको सुनको ढिक्का, सिक्री लुटपाट गर्न प्रयोग गरिएको २ थान मोटरसाइकल, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद गरेको छ।
