सडक निर्माणको बिल भुक्तानी दिने क्रममा एक लाख घुससहित लहानका लेखा अधिकृत पक्राउ

सिरहा, २७ असार । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस लिइएकाे पाइएको छ ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् ।

अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएकाे छ ।