केराकाे थामबाट हस्तकलाका सामग्री निर्माण

स्याङ्जा, २७ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ ।

‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउने तालिम दिएकाे प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुुभयो ।

गाउँपालिकाले ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित बृहत्रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।

पाण्डेले गण्डकी प्रदेशको नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनका लागि रु एक करोड ४० लाख र कालीगण्डकी गाउँपालिकाको रु ६० लाख लागत अनुमान गरिए पनि करिब रु ५३ लाख खर्च भएको बताउनुभयो । यसका लागि गण्डकी प्रदेश सरकारको रु ३६ लाख ५० हजार र कालीगण्डकी गाउँपालिकाको रु १५ लाख ५० हजार खर्च भएको छ ।

“योजना सम्झौता भएयता २९ नागरिकले केराका थामबाट मुडा, चप्पल, चकटी, गलैँचा, पातबाट दुुनाटपरी, धागो बनाउने काम सिक्दै आएका छन्, पछिल्लो समय गलैँचा र खादा बनाउने तालिम चलिरहेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाका सबैले यो काममा चासो देखाएका छन्, अन्य पालिकाले समेत आएर सिक्ने वातावरण बनेको छ ।”

प्रमुख प्रसासकीय अधिकृत पाण्डेले नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत गाउँपालिका तीन विद्यालय र ९० किसानलाई २० हजार केराका बेर्ना वितरण गरिएको जानकारी दिनुभयो । उहाँले प्रत्यक्ष–अप्रत्यक्षरूपमा करिब नौ सय जनालाई रोजगार दिने गरी योजना अगाडि बढाएको दाबी गर्नुभयो ।

गाउँपालिका कृषि शाखा प्रमुख अनुप पौडेलले सानो लगानीमा केही गरौँ भन्ने हुटहुटी भएकालाई तालिम फलदायी भएको बताउनुभयो । उहाँले पाखोबारीमा खेर गएका सामग्री प्रयोग गरेर आम्दानीको स्रोत बनाउने अभियान चलाइएको बताउनुभयो ।

हस्तकलाको तालिममा सहभागी स्थानीय दिलसरा थापाले ज्ञानको अभावमा फालिएका केराका थाम उपयोग गरेर आयआर्जन गर्न सकिने विश्वास पलाएको बताउनुभयो । “केरामात्र खाइन्थ्यो, थाम फालिन्थ्यो, अत्यावश्यक सामान बन्छ भन्ने थाहा थिएन”, थापाले भन्नुभयो, “यस्ता खेर जाने वस्तु उपयोगमा ल्याएर स्वरोजगार बन्न सकिने रहेछ ।”