नेपालले दोस्रो मैत्रीपूर्ण खेल आज बंगलादेशसँग खेल्दै

काठमाडौं, ३१ असार । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज दोस्रो मैत्रीपूर्ण खेल बंगलादेशसँग खेल्दैछ ।

खेल ढाका कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यसअघि भएकाे नेपाल र घरेलु टोलीबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो। सविना खातुनले खेलकाे ६८ औँ मिनेटमा गोल गरेकी थिइन्। हार नजिक पुगेको नेपाललाई इन्जुरी समयमा सावित्रा भन्डारीले गोल गर्दै बचाएकी थिइन्।

गत वर्षकोे भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँगै नेपाल पराजित भएको थियो।

त्यसको बदला लिने लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा सफल हुन सकेन । अब दोस्रो खेलमा नेपाल सामु जित निकाल्दै हारको बदला लिने अवसर बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *