सार्वजनिक यातायातको भाडादर घट्यो, आजैदेखि लागू हुने (सूची सहित)

काठमाडाैं, १ साउन । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा लगभग ३ प्रतिशत भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा रु चार र पेट्रोलमा प्रतिलिटर रु छ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटाएको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ । नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन् ।

पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।