तनहुँको कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित

तनहुँ, ७ साउन । तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् ।गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।

कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको हाेे । घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा अहिले त्यसलाई व्यावसायिक बनाउनुभएको छ ।

हाल उहाँले दुई रोपनी क्षेत्रफलमा खेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “ रोपनीभन्दा माथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ । अनुदानले हामीजस्ता कृषकलाई राहत मिल्छ ।”

घिरिङ –२ चिन्नेखोलाका शेरबहादुर थापाले पनि सुरुमा निर्वाहमुखी रूपमा मात्रै अदुवाखेती गर्नुभएकामा गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाउनुभएको छ । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैँले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ । तर स्थानीय सरकारले व्यावसायिकरूपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उहाँले चार रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहनुभएको छ ।

घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाएपछि कृषक यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले एक सय ४४ जना अदुवा कृषकलाई प्रतिव्यक्ति रु पाँच हजारका दरले रु सात लाख २० हजार वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने बताउँदै कृषक व्यावसायिक बन्नुपर्ने उल्लेख गर्नुभयो । प्याज पाँच सय किलो, लसुन दुई सय ५० किलो र बेसार पाँच सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत रु पाँच हजार अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो ।