सार्वजनिक यातायात सफा र व्यवस्थित हुनुपर्छ : मन्त्री ज्वाला
काठमाडाैं, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्वालाले सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको हाे ।
उहाँले सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन गर्दै सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधन आमनागरिकका साधन हुन्, आमनागरिकले प्रयोग गर्ने सवारीसाधन सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती सवारीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।”
मन्त्री ज्वालाले सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरु अनुशासित हुनुपर्ने र उनीहरुको पहिचान खुल्नेगरी अनिवार्यरुपमा पोशाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।
“आमनागरिकसँग घुलमिल हुने व्यक्ति जहिले पनि अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो, “कार्यालयभित्र काम गर्नेभन्दा पनि दिनहुँ सयौँ हजारौँ सर्वसाधारणसँग सम्पर्कमा रहने मान्छे सबैभन्दा बढी अनुशासित हुनुपर्छ ।”
उहाँले सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा धेरै गुनासा आइरहेकाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी थालेकोसमेत मन्त्री ज्वालाले जानकारी दिनुभयो ।