एक क्विन्टल सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित छ जना पक्राउ
काठमाडाैं, ७ साउन । राजस्व अनुसन्धान विभागले एक सय किलो भन्दा बढीकाे सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित छ जना पक्राउ परेका छन् ।
विभागका अनुसार पक्राउ पर्नेमा तीनजना भन्सार अधिकृतसहित कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका छन् ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् ।
यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो भन्दा बढीकाे सुन तस्करीमा १६ जना पक्राउ परेका छन् ।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा सिनामंगल पुर्याएकाे सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।