पाँचथरको फिदिममा जीप दुर्घटना, एकजनाको मृत्यु १३ जना घाइते

पाँचथर, ९ साउन । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १३ जना घाइते भएका छन् ।

झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको जीप अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएकाे हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोषन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठर र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ फावाखोलाका ३० वर्षीय सरोज मादेन घाइते भएका छन् ।

यसैगरी दुर्घटनामा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ का २४ वर्षीय अजय लिम्बू, इलामको देउमाई नगरपालिका सिद्धिथुम्काकी १४ वर्षीया निरुता रम्तेल, कालीकोटका २२ वर्षीय सुमन खड्का, काठमाडौँको बल्खुकी २० वर्षीया मीना लिम्बू, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय राम नेम्बाङ, पाँचथरको फिदिम नगरपालिका–१० याङनामकी ४० वर्षीया सविना बिक र सोही स्थानकी पाँच वर्षीया पुस्तिका विक घाइते भएका छन् । घाइतेमध्ये मीना र सविनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।