चार दिनदेखि बेपत्ता दमाई खाल्डाेमा पुरिएकाे अवस्थामा भेटिए

कञ्चनपुर, १९ साउन । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता भएका कुवेर दमाई खाल्डाेमा पुरिएकाे अवस्थामा भेटिएका छन् ।

कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय दमाई खाल्डाेमा पुरिएकाे अवस्थामा मृत भेटिएका हुन् ।

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उहाँले भन्नुभयो, “हत्या गरिएको आशंकामा अनुसन्धान जारी छ ।” शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *