सांस्कृतिक महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
एजेन्सी, १९ साउन । स्वीडेनकाे स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् भने सय जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक एसभिटीले उल्लेख गरेको छ।
करिब एक हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेको स्विडेनी सञ्चार माध्यमले जनाएको छ ।
तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया-थीम्ड फेस्टिभल आयोजना गरिदै आएको छ ।
हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्।