क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न सिआइबीलाई दिने तयारी

काठमाडाैं, १९ साउन । सरकारले क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जिम्मा लगाउने भएकाे छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गर्नुभएकाे हाे ।

छलफलले यस प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने/नदिने निर्णय भने भइनसकेको प्रहरी उच्च स्रोतले बताएको छ।

राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान राजस्व छलीसम्बन्धी कसुरमा गरिरहेको छ। तर चीनको हङकङ हुँदै नेपालमार्फत् भारतसम्म सुन तस्करी गरेको यो घटना राजस्व छली मात्रै नभएको प्रहरी अधिकारीहरूको दाबी छ।

यस्तै, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पनि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयाे ।

यसबारे शुक्रबार साँझ वा आइतबारसम्म एउटा टुंगोमा पुग्ने उहाँले बताउनुभयाे। त्यसका लागि राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी, महान्यायाधिवक्तासँग छलफल गरेर टुंगो लगाउने तयारी छ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटेको ब्रेक शुबाट अन्दाजी १०० किलो बढी सुन बरामद भएको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट आएको ब्रेक शुमा सुन बरामद भएपछि याे घटनाले ठूलाेरूप लिएकाे छ ।