अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुवानमा, चाँगुनारायणमा एउटा घर भत्कियो

भक्तपुर, २३ साउन । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुवानमा पर्नुका साथै चाँगुनारायणमा एउटा घर भत्किएकाे छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा अविरल वर्षाले पहिरो जाँदा बीरबहादुर केसीको चारकोठे घर भत्किएको हो ।

घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एकतले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन । उक्त स्थानमा सशस्त्र प्रहरीको दुवाकोट गण र नेपाल प्रहरीको दुवाकोट अस्थायी प्रहरी पोष्टबाट उद्धार टोली खटिएको छ ।

वर्षाले भक्तपुरका विभिन्न स्थान डुबानमा परेकाे छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता पाठकका अनुसार हनुमन्ते लगायतका खोलाहरुको बहाव उल्लेख्य बढेको छ।

डुबानमा परेकाे भक्तपुरस्थित हनुमानघाट देखि मङ्गल तिर्थसम्मकाे फाेटाे: जाेसन मचामसी